You are viewing the translated version of अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति प्राप्त गर्न निवेदन दिनु पर्ने.

Rule 10
अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति प्राप्त गर्न निवेदन दिनु पर्ने
(१) अदालतबाट मुद्दामा आदेश वा फैसला हुँदा पीडितलाई कोषबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति उपलब्ध गराउने गरी आदेश वा फैसला भएकोमा त्यस्तो आदेश वा फैसला बमोजिमको क्षतिपूर्ति वा राहत प्राप्त गर्न चाहने पीडितले अनुसूची-१ बमोजिमको ढाँचामा जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ।
(२) कसूरदारको कुनै सम्पत्ति नभई पीडितले क्षतिपूर्ति नपाउने देखिएको वा कसूर स्थापित भई कसूरदार कायम हुन नसकेको वा कसूरसँग सम्बन्धित मुद्दा प्रचलित कानून बमोजिम फिर्ता भएको कारण अदालतले कोषबाट क्षतिपूर्ति स्वरुप उचित रकम भराउने आदेश गरेकोमा त्यस्तो रकम पाउनको लागि पीडितले अनुसूची-२ बमोजिमको ढाँचामा जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निवेदन दिन पीडित आफैं उपस्थित हुन नसकेमा पीडितले निजको एकासगोलको परिवारको सदस्य वा कानून बमोजिमको प्रतिनिधि मार्फत निवेदन दिन सक्नेछ।
(४) उपनियम (१) वा (२) बमोजिम लिखित रूपमा निवेदन दिन नसक्ने पीडितको लागि जिल्ला अदालतले त्यस्तो निवेदनको ढाँचा भरिदिई निवेदकको सहीछाप गराई निजबाट प्राप्त आवश्यक कागजात तथा विवरण संलग्न गराई निवेदन दिने व्यवस्था मिलाउनु पर्नेछ।
(५) यस नियम बमोजिम निवेदन दिँदा निवेदनसाथ निवेदकको परिचय खुल्ने कागजात संलग्न गर्नु पर्नेछ।